काठमाडौं । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष छ । तर, सेवाअवधी बाँकी छँदै त्यसअगावै उमेरहदका कारण उच्च प्रहरी अधिकृतहरु अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल आगामी मंसिर २२ मा अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नायब महानिरीक्षक (डिआईजी) र एआईजीको उमेरहद ५६ वर्ष रहेका कारण उनी उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
त्यसैगरी अर्का एआईजी भिम प्रसाद ढकाल पनि २८ मंसिरमा अनिवार्य अवकाशमा जाँदैछन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।
यसअघि १६ कात्तिकमा एआईजी किरण राना र १७ कात्तिकमा अर्का एआईजी रामदत्त जोशी पनि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गए ।
आउँदो १६ पुसमा अर्का एआईजी किरण बज्राचार्य पनि अनिवार्य अवकाशमा जाँदैछिन् भने ३० मंसिरमा डिआईजी अर्जनचन्द ठकुरी र १४ पुसमा भरतबहादुर बोहरा ५६ वर्षे उमेरहदकै कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
उमेर हदका कारण अवकाशमा नगएको भए उनीहरु सबै चैत २०८१ सम्म प्रहरी सेवामा रहन्थे । सेवा अवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका उनीहरुको आगामी चैतमा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्ष पूरा हुन्छ ।
उनीहरू सबै हालका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची हुन् । उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
०००
अबको १० दिनपछि २ एआईजीले अवकाश पाउने पक्कापक्की भएपछि रिक्त पदको लागि बढुवा हुन चर्को प्रतिस्पर्धा हुने देखिएको छ । भिम ढकाल र केदार ढकालको ठाउँमा एआईजी हुन डिआईजीद्धय चन्द र बोहरा लागिपरेका छन् ।
तर, प्रहरी नेतृत्वले बोहरालाई चाहिँ एआईजी बनाएर घर पठाउने पक्षमा छन् । चन्द भने प्रहरी संगठनमा विवादित अधिकृत भएको कारण उनको सम्भावना कम रहेको बुझिन्छ ।
अर्को एक एआईजीमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआईजी जनक भट्टराईको सम्भावना छ । उनी प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृत हुन् ।
त्यस्तै एआईजी बज्राचार्यको अवकाशपछि रिक्त ठाउँमा गण्डकी प्रदेश प्रहरी कार्यालयकी प्रमुख दुर्गा सिंहको बढुवा हुने सम्भावना छ । उनी पनि प्रहरी संगठनमा व्यवसायीक प्रहरी अधिकृत हुन् ।
त्यस्तै रिक्त डिआईजीमा भने एक दर्जन प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुको प्रतिस्पर्धा छ ।
