काठमाडौं । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआईजी) पदमा पहिलो पटक दलित समुदायका व्यक्ति पुगेका छन् । ती व्यक्ति हुन् डिआईजी बढुवा सिफारिसमा परेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डम्बर बहादुर बिक ।
गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले ९ मंसिरमा डिआईजी बढुवाका लागि बिकसँगै ८ जनाको नाम सिफारिस गरेको छ । हाल बिक त्रिभुवन अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिए ।
प्रहरी संगठनमा इमान्दार तथा व्यवसायीक अधिकृतको छवि बनाएका बिकलाई डिआईजी बनाउनुमा प्रहरी नेतृत्वको समेत साथ सहयोग छ । सिनियारिटीमा ८ नम्बरमा रहेका उनलाई जसरी पनि डिआइजी बनाउनुपर्ने अडान प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको थियो ।
पछाडि परेको उत्पीडित समुदायबाट यो पदमा पुगेर अझैं देश र जनताको सेवा गर्ने इच्छा रहेको बिकले सुनाए । ‘अहिलेको बढुवापछि संगठन प्रमुखले चलाएको आन्तरिक शुद्धीकरणदेखि नागरिकमैत्री अभियानले सार्थकता पाएको महसुस हुन्छ,’ उनले भने ।
न्यायमा पहुँचमा नभएकालाई न्याय दिनुपर्ने कुराहरु प्रहरी संगठनमा सुधार गर्नुपर्ने आवश्यकता हो । ‘जसको लागि संगठन प्रमुखको अभियान निकै राम्रो छ । सबैले पालना गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।
००००
दाङमा जन्मिएका बिकले २०५३ पुस ५ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । सामान्य परिवारमा जन्मिएका उनले ५,६ कक्षा पढ्दै गर्दा आमाबुबा गुमाए । त्यसपछि उनको हेरचाह ठूल्दाजु खड्गबहादुर सुनारको काँधमा आयो ।
त्यसपछि उनले माध्यमिक तहसम्मको अध्ययन दाङको सदरमुकामा सके । पढाईमा अब्बल रहेका उनलाई त्यसपछि ठूल्दाजुले पढ्नकै लागि भनेर काठमाडौं पठाए । काठमाडौंमा बसेर पढ्दै गर्दा उनी प्रहरी सेवामा जोडिन पुगेका हुन् ।
दलित भएकै कारण स्कुल पढ्दा समेत भेदभाव हुने गरेको उनी सम्झन्छन् । त्यतिमात्र नभएर गाउँघरमा पानी लिन जाँदा समेत तल्लो जातको भनेर हेप्ने गरेको बिकले बताए ।
०००००
प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका बिकले एसएसपीमा विपद् व्यवस्थापन महाशाखा सामाखुसीको कमाण्ड सम्हाले भने प्रहरी उपरीक्षक (एसपी)मा जिल्ला प्रहरी कार्यालय धादिङ र लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड सम्हाले ।
यसैगरी प्रहरी नायब उपरीक्षक (डिएसपी)मा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र जिल्ला प्रहरी कार्यालय प्युठानको कमाण्ड सम्हाले भने प्रहरी निरीक्षकमा इलाका, जिल्ला ट्राफिक कार्यालयको कमाण्ड सम्हालेको अनुभव छ ।
बिकसँगै डिआईजी बढुवा हुनेहरुमा ध्रुवराज राउत, धोला बहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी र हिमालय कुमार श्रेष्ठ रहेका छन् ।
जसमध्ये पहिलो दोस्रो र तेस्रो आईजीपी कुँवरका ब्याचमेट हुन् भने बाँकी पाँचजना एउटै टोली हुन् ।
