सञ्जय मिश्रा
रौतहट । रौतहटस्थित ३ वडाअध्यक्ष पदको लागि आइतबार भएको उपनिर्वाचनमा २ वडामा कांग्रेस र १ वडामा एकीकृत समाजवादीका उमेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति एवं पूर्वमन्त्री कृष्ण प्रसाद यादवको गृहवडा गढीमाई नगरपालिका -८ मा समाजवादी उमेदवार विजयी भएका हुन् ।
अध्यक्षमा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव निर्वाचित भएका छन् । प्रदेश सभापति यादवका आफन्त एवं वडा अध्यक्षका उम्मेदवार सुवोध कुमार यादव मत परिणाम अनुसार तेस्रो स्थानमा पुगेका छन् ।
सोमवार बिहान ४ बजे निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उमेदवार यादव २४ मत बढीले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले कुल ६ सय ५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादवले कुल ६ सय ३१ मत प्राप्त गरेकी छन् । त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोध कुमार यादवले कुल ६ सय १७ मत पाएका छन् ।
निर्वाचनमा मतगणनाको सुरु देखि नै नेकपा एमाले अग्रता कायम राखेका थिए, तर अन्त्यमा एक्कासी नेकपा एकीकृत समाजवादीले जीत हात पारेका हो ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सन्देश प्रसाद यादवले जम्मा २ सय ५८ मतमै चित बुझाएका छन् । जनमत पार्टीले ८ मत मात्र प्राप्त गरेका छन् ।
निर्वाचनमा कुल मतदाता संख्या २ हजार ७ सय ५१ रहेकोमा जम्मा २ हजार २ सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी दिए ।
ईशनाथ नगरपालिका ७ मा भने नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । खलिकले ६२७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन् ।
यसैगरी राजपुर नगरपालिका ६ मा नेपाली काँग्रेसका समसे आलमले ७४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन् ।
