भैरहवा । भैरहवास्थित एसियन होटल प्रालिको परिसरमा सञ्चालित एलिगेन्ट क्यासिनोका दुई जना कर्मचारीमाथि गएराति अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उक्त क्यासिनोका महाप्रबन्धक समीर शर्मा र क्यासीनोका क्यास म्यानेजर बैकुन्ठ न्यौपानेमाथि आक्रमण भएको हो ।
दुवै जनाको खुट्टा र हातमा चोट लागेको छ । घाइते दुवै जनाको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रवक्ता नवीन पौडेलले बताए ।
उनका अनुसार सोमबार राति ड्युटी सकेर खाना खान क्वाटरमा गएको बेलामा १० बजेतिर ४/५ जनाको अज्ञात समूहले उनीहरुमाथि कुटपिट र आक्रमण भएको हो ।
‘घाइतेको अवस्था हेर्दा कुनै धारिलो हतियारले आक्रमण गरेको देखिन्छ,’ डीएसपी पौडेलले भने, ‘आक्रमणकारीको खोजी र अनुसन्धान जारी छ ।’
कुटपिट तथा आक्रमण गरिनुको कारण पनि खुल्न सकेको छैन । घाइते दुवै जनाको अवस्था खतरामुक्त छ ।