काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका बेला पार्टीकै झापा उपसभापति प्रकाश पाठकसहित ३ जनाले किर्ते गरेर एउटा सिचाई आयोजनाको साढे १७ लाख रुपैयाँ ब्यक्तिगत प्रयोजनमा खर्च गरेको फेला परेको छ ।
झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उदेश्यले सञ्चालनमा रहेको ‘अदुवा खोला सिँचाइ आयोजना’ को १७ लाख ५४ हजार रुपैयाँ आयोजनाका अध्यक्ष बृखबहादुर थापा (दिनेश), आयोजनाका सचिवसमेत रहेका पाठक र कोषाध्यक्ष लोकनाथ ओलीको मिलेमतोमा निकालेर खर्च गरेको फेला परेको हो ।
गत ४ जेठ ०८१ मा आयोजनाको धरौटी खातामा रहेको पैसा निकाल्ने प्रयोजनका लागि समितिको बैठक बसेको थियो । निर्णय पुस्तिकामा कार्यसमितिका १३ मध्ये अध्यक्ष थापा, सचिव पाठक, कोषाध्यक्ष ओली, सदस्यहरु कोपिला पौडेल, देवराज ताजपुरिया, इन्द्रकला दाहाल, मानबहादुर थापा, बालमाया कार्कीलगायत १० जनाको हस्ताक्षर छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक अन्य सदस्यले बैठकको निर्णयमा आफुहरुले हस्ताक्षर नगरेको दाबी गरेका छन् । तर, सोही बैठकको निर्णयका आधारमा धरौटी खाताको साढे १७ लाख रुपैयाँ निकासा लिएर खर्च गरेको देखिएको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भद्रपुरले पनि रकम निकासा लिइएको छ । किर्ते हस्ताक्षर गरी रकम निकालिएको कुरा अध्यक्ष र सचिव दुवैले स्विकार गरेका छन् । तर, त्यो रकम मध्ये आफुले १० लाख ५४ हजार मात्र चलाएको अध्यक्ष थापाले बताए । तीनैजनाले पैसा चलाएको उनको भनाई छ ।
अध्यक्ष थापाका अनुसार पाठकले भाइलाई अष्ट्रेलिया पठाउँदा ५ लाख रुपैयाँ चलाएका थिए । पाठकले भने किर्ते गरेर रकम निकाले पनि आफुले नचलाएको दावी गरेका छन् । सबै पैसा अध्यक्ष थापाले नै चलाएको उनको भनाई छ । स्रोतका अनुसार चेक पाठककै नाममा काटिएको छ । पाठकले उक्त पैसा अहिले खातामा जम्मा भइसकेको बताए ।
आयोजनाका पूर्व अध्यक्ष रत्नबहादुर अधिकारीले किर्ते प्रकरण पत्ता लगाएका हुन् । कार्यसमिति सदस्य कोपिला पौडेलको हस्ताक्षरका कारण यो प्रकरण खुलेको हो । कहिलै अंग्रेजीमा हस्ताक्षर नगर्ने पौडेलेको हस्ताक्षर अंग्रेजीमा देखिएपछि सोधपुछ गर्दा अध्यक्ष, सचिव र कोषाध्यक्ष वाहेक सवैको हस्ताक्षर किर्ते फेला परेको उनले जानकारी दिए ।