काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि शुक्रबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी चिन्ह प्रदान गरेको हो ।
प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नायब महानिरीक्षक (डिआईजी) बाट एआईजीमा बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
कार्यक्रममा आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
आईजीपी कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ(आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
दर्ज्यानी चिन्ह प्रदानसँगै गुरुङको कार्य विभागमा र ढकालको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ ।