काठमाडौं । २ फागुन २०८० मा जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले सम्हाले । एसपी ढुंगेलले जिम्मेवारी सम्हालेसँगै चुनौतीहरु पनि थुप्रै थियो- तस्करी, लुटपाट, चोरी तथा गुण्डागर्दी नियन्त्रण ।
त्यसैले पर्सा देशको सबैभन्दा अति संवेदनशील जिल्लामा पर्छ । भारतसँगको खुला सीमाना भएका कारण जहाँ तस्करी र लुटपाट नहुने कुरै भएन । त्यतिमात्र नभएर भारतीय सुटरहरुको समेत पर्सामा बिगबिगि नै थियो । जसको नियन्त्रण गर्नु प्रहरी प्रशासनको कर्तव्य हो ।
प्रसंग जोडौं, एसपी ढुंगेलकै । प्रहरी संगठनमा खरो स्वभावका अधिकृत रुपमा चिनिने उनी निडर र साहसिक क्षमताका अधिकृत हुन् । ढुंगेल जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।
त्यसैले पर्सामा हुने तस्करीदेखि गुण्डागर्दी नियन्त्रणमा एसपी ढुंगेलको ‘अग्नीपरीक्षा’ हुँदै थियो । पर्साको कमाण्ड सम्हालेको दिनमै विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै सूचना पाएपछि उनी गुण्डागर्दी नियन्त्रणमा केन्द्रित भए ।
काठमाडौंमा समेत कार्यरत रहँदा गुण्डागर्दी नियन्त्रणमा सक्रिय रहेका एसपी ढुंगेलले त्यसपछि नेपाल र भारतको आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको पहिचान गर्दै सूची तयार पारे । सूचीको पहिलो नम्बरमा नाम थियो- बब्लु पासवान ।
बब्लु अनेक आपराधिक गतिविधिमा संलग्न व्यक्ति थिए । बब्लुकै योजनामा २०७९ असोज ३ गते काठमाडौं गोठाटारमा सर्लाही हरिवन नगरपालिका– २ का लाल मोहम्मदको हत्या भएको कुरा एसपी ढुंगेललाई राम्रोसँग थाहा थियो ।
जतिबेला प्रहरी अनुसन्धानको क्रममा पनि मोहम्मदको हत्याको मुख्य योजनाकार उनै बब्लु रहेको खुलेको थियो । करिब ५७ दिनको अनुसन्धानले मोहम्मदको हत्या बिहार प्रदेशस्थित रक्सौलका बब्लुकै योजनामा भएको निष्कर्ष निकालेको हो ।
रक्सौलका बब्लुको सीमावारीको जिल्ला पर्सामा राम्रै पकड थियो । एसपी ढुंगेलले जब पर्साको कमाण्ड सम्हाले, त्यसपछि बब्लु वारी आउन नै छाडे । भारततिरै लुकेर बसे । बब्लु त्यस्ता अपराधी थिए, जसलाई भारतीय प्रहरीले समेत खोजी गरिरहेको थियो ।
दुई वर्षदेखि प्रहरीले नेपालमा खोजी गरेपनि उनी भारत भागेका कारण पक्राउ पर्नबाट जोगिएका थिए । तर, एसपी ढुंगेल बब्लु पासवानलाई जसरी पनि समात्ने योजनाका साथ लागिपरे । जतिबेला बब्लु पासवान भारतमै थिए ।
उनको पहिचान गर्न कठिन भएपछि अपराध अनुसन्धानमा पोख्त एक प्रहरी नायब निरीक्षक (सई)को टोलीलाई एसपी ढुंगेलले काठमाडौंबाट पर्सा लगे । उक्त टोलीले निरक्यौल गरेपछि पर्सा प्रहरी पासवानलाई जसरी पनि समात्न भन्दै योजना बनाउन थाल्यो ।
जुनकुरा बब्लुले थाहा पाइसकेका थिए । आफूलाई पर्सा प्रहरीले पक्राउ गर्न खोजेको सूचना पाएपछि बब्लु झनै चनाखो भएर रक्सौल एरियामै अड्डा जमाएर बस्न थाले । त्यसपछि बब्लुको समूहले पर्सा प्रहरीको रेकी सुरु मात्र गरेन, आफ्नो समूहका केही व्यक्तिहरुलाई नेपाल पठाउँदै सूचना लिन थाल्यो ।
प्रहरी संगठनमा खरो स्वभावका पहिचान बनाएका एसपी ढुंगेललाई १७ वैशाख राति करिब ११ बजेको समयमा एक सूचना आयो, बब्लुको समूह लागूऔषध तथा हातहतियारका साथ वीरगन्जतर्फ आउँदैछ । एसपी ढुंगेलले तत्कालै काठमाडौंबाट झिकेका टोलीलाई रेकी गर्न पठाए ।
बब्लुको समूहको रेकी गर्न भन्दै सिमातिर पठाएका प्रहरीको टोलीसँग बब्लुको वीरगञ्ज बजारमा नै जम्काभेट भयो । तत्कालै प्रहरीले नियन्त्रणमा लिन खोज्यो । तर, प्रतिकार उत्रिए बब्लु । ढुंगेलले भारतबाट बीआर ०५ एल ६१३९ नम्बरको मोटरसाइकलमा लागू औषध तथा हातहतियारका साथ वीरगन्जतर्फ आइरहेको विशेष सूचना पाएका थिए ।
‘तत्कालै नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेपछि प्रहरीले गोली चलाएर बब्लुलाई नियन्त्रणमा लिएका हौं,’ एसपी ढुंगेलले जतिबेला भनेका थिए, ‘नेपालको सुरक्षा चुनौती बनेका भारतीय सूटर बब्लु पासवानलाई पर्सा प्रहरीले खुट्टामा गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको हो ।’ उनको बायाँ खुट्टाको घुँडामा गोली लागेको थियो ।
जतिबेला उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको थियो । यसरी एसपी ढुंगेलले भारतीय कुख्यात अपराधी बब्लुलाई गोली हानी नियन्त्रणमा लिन सफल भएका हुन् । उनको आँट, जोश र जाँगरको कारण अन्य प्रहरीहरुको समेत मनोबल बढेको छ ।
बब्लुको वास्तविक नाम गणेश कुमार हो । तर, उनी आफूलाई बब्लु पासवान भनेर चिनाउँछन् । रक्सौलबाट वीरगन्ज हुँदै काठमाडौँतर्फ लागूऔषध कोरेक्स पठाउने डिलरका मुख्य सञ्चालक पनि हुन् ।
साना हतियार कारोबार समेत गर्ने गरेका बब्लुले नेपाली उद्योगी–व्यवसायीहरूलाई फोन गरी रकम माग्ने तथा ज्यान मार्ने धम्की दिने गर्थे । हाल त्यस्तो धन्दा बब्लुको नियन्त्रणपछि शून्य जस्तै छ ।
