काठमाडौं । प्रहरी संगठनभित्र बढुवा र महत्वपूर्ण जिम्मेवारीको प्रश्न आउँदा के लाई आधार मानिन्छ होला ? मान्छेहरुले सोच्छन्,– योग्यता, क्षमता, वरिष्ठता, अनुभव आदि–इत्यादी । तर त्यस्तो देखिदैँन ।
पञ्चायतकालदेखि नै राजनीतिले गिजोलिएको प्रहरी संगठनभित्र पछिल्ला दिनमा राजनीतिकरण झन जब्बर रुपमा देखा परेको छ ।
कमजोर कार्यसम्पादन क्षमता भएपनि आफ्ना मान्छे ‘पावर’मा छन् भने आफूभन्दा संगठनभित्र जतिसुकै अब्बल कोही छन् भने पनि त्यसलाई सहज पन्छाउन सकिन्छ भन्ने उदाहरण नेपाल प्रहरी संगठनभित्र अहिले देखा पर्न थालेको छ ।
कार्यसम्पादन कमजोर रहेको भनी प्रहरी संगठनभित्रै चर्चा चल्ने गरेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)हरु माथिल्लो राजनीतिक नेतृत्वहरुलाई रिझाएरै भएपनि बढुवा हुने दाउमा छन् ।
जसले गर्दा प्रहरी नेतृत्वले समेत समयमा बढुवा निकाल्न सकिरहेका छैनन् । माथिल्लो तहबाट दबाब आएपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले सोचेअनुसार सरुवा बढुवा गर्न नसकेका हुन् ।
जबकी पछिल्लो ५ महिनादेखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) पद रिक्त हुँदा समेत राजनीतिक स्वार्थ नमिल्दा बढुवा धकेलिएको हो । त्यसैले प्रहरीमा रिक्त रहेको पदमा बढुवा कहिले हुन्छ भन्न सकिन्न ।
नेतादेखि आफुमाथिका ‘हाकिम’का सधै दाहिना बन्न रुचाउने र चाप्लुसीमा बढी विश्वास गर्ने ती एसएसपीहरु डिआईजी र एसपीहरु एसएसपी बन्ने दौडमा छन् ।
ती एसएसपीहरु हुन्, आईजीपीका कुँवरका ब्याची ध्रुवराज राउत र भोला रावल । उनीहरु संगठनमा विवादित र कमजोर कार्यक्षमता भएका अधिकृत हुन् । उनीहरुसँगै ओम राना, राजेन्द्र भट्ट, अरुण पौडेलहरु पनि संगठनमा कमजोर अधिकृतको रुपमा चिनिन्छन् ।
तर, उनीहरुलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाब आएपछि गृह मन्त्रालयले डिआईजी दरबन्दी थपको प्रस्ताव अगाडि बढाएको छ । आफ्नो मान्छेलाई व्यवस्थापन गर्नुपर्ने भएपछि गृहमन्त्री रमेश लेखकसमेत आफ्नो अडानमा टिक्न सकेनन् ।
शीर्ष नेताहरुका अगाडी धाइरहन रुचाउने, मिठो बोलीमा नेताहरुलाई भूलभूलैयामा पार्ने र त्यसको लाभ उठाउन भने ती एसएसपीहरु अब्बल मानिन्छन् । त्यही आफ्नो चाप्लुसी कलाबाट उनीहरुले एसएसपीमा मात्र नभएर एसपीमा समेत राम्रो राम्रो ठाउँको जिम्मेवारी पाए ।
त्यस्तै कार्यसम्पादनमा कमजोर रहेका एसपीहरु अजय केसी, कमल थापा, विमलराज कंडेल, जर्नादन जिसी, सन्तोष खड्का, वीरबहादुर बुढामगर, तुलबहादुर कार्कीसमेत एसएसपीको दौडमा छन् । र विवादित रहेका राकेश सिंह, सञ्जय सिंह थापा र ज्ञानेन्द्र फुयालहरु समेत बढुवा हुने भन्दै हिँडिरहेका छन् ।
यीमध्ये केही प्रहरी संगठनभित्र सिनियरहरुलाई पछि पार्दै बढुवा हुन सफल भएका अधिकृत हुन् । बोली एउटा तर काम भने अर्को गर्ने उनीहरुको धन्दा नै राजनीतिक नेतृत्वलाई रिझाउने मात्र रहेको बताइन्छ ।
बढुवा हुने हल्लापछि काठमाडौं उपत्यका बाहिर रहेका एसपी, एसएसपीहरु राजधानीमै अड्डा जमाएर बसेका छन् । त्यस्तै काठमाडौंमै रहेका चाहिँ विदा लिएर नेताहरु भेट्नमा व्यस्त छन् ।
त्यसैले पछिल्लो समय प्रहरी संगठन नेताहरुको खल्तीको पैसा जस्तो बनेको छ, मन लागे झिक्ने नलागे लुकाएर राख्ने ।