काठमाडौं । रक्सी खाएर होहल्ला मच्चाएपछि स्थानीयले कुटपिट गरेका विवादित प्रहरी सहायक निरीक्षक (असई) मशेह सिंह धामीले राजीनामा दिएका छन् ।
आचरण विपरित काम गरेपछि विवादमा तानिएका असई धामीले राजीनामा बुझाएका हुन् । अछाम तुर्माखाद गाउँपालिका–१ रहफस्थित प्रहरी चौकीको इन्चार्ज रहेका बेला कुटाइ खाएपछि उनी विवादमा तानिएका थिए ।
घटना गत १४ कात्तिकको हो । उक्त राति मदिरा सेवन गरेर एक्लै गाउँ पुगेका उनीमाथि देउसी भैलो टिमले कुटपिट गरेको थियो । तर, घटना झण्डै दुई हप्तासम्म गुपचुप राखिएको थियो ।
तर घटना सार्वजनिक भएपछि उनलाई जिल्ला तानेर जिल्ला प्रहरी कार्यालय अछामले समिति बनाएरै छानविनको तयारी थालेको थियो । तर त्यसभन्दा अगाडी नै धामीले राजीनामा बुझाएका हुन् ।
उनको राजीनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट केही दिनअघि स्वीकृत गरिसकेको जनाइएको छ ।
चाडपर्वको अवसरमा जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट नै शान्ति भंग गर्ने कार्य भएपछि स्थानियले कडा प्रतिक्रिया स्वरूप कुटपिट गरेका थिए ।
