विराटनगर । घरभाडा नतिरेको अभियोगमा जेल परेको एक कैदीको मोरङ कारागार मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–८ घर भएका महानन्द राय अमात (५५) को आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
जेलर चेतराज बरालका अनुसार मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगी रहेका अमातको दुवै खुट्टामा घाउ निस्किएर पाकेको थियो । त्यसपछि २१ कात्तिकमा उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
आईसीयूमा राखेर उपचारर गरिरहेका बेला उनको मृत्यु भएको जनाईएको छ । भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए ।
सो मुद्दामा जिल्ला अदालत मोरङले उनलाई गत १३ असोजमा दोषी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । भाडाबापत उनले घरधनीलाई ९ लाख रूपैयाँ तिर्न बाँकी रहेको अदालतले ठहर गरेको छ ।
