इटहरी । सुनसरीको खनारमा आज यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन ।
इटहरीबाट कोशी राजमार्ग हुँदै विराटनगर जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले खनारको शान्ति चोकमा केही बेरअघि साइकल यात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको मृत्यु भएको छ ।
दुर्घटनापछि भागेको बसलाई स्थानीयले नियन्त्रणमा लिएर आगो लगाएका छन् । आगजनीबाट बस पूर्णरूपमा ध्वस्त भएको छ ।
आक्रोशित स्थानीयले बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै रोकेर यात्रु भित्र हुँदै आगो लगाएका हुन् ।
बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीयले जानकारी दिए ।
बस चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
