काठमाडौं । अंश विवादमा हँसियाले प्रहार गरी बुबाको हत्या गरेर भागेका काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, धारापानीका रामलाल श्रेष्ठ (४४) पक्राउ परेका छन् ।
धारापानीको पुजारी थुम्का बस्ने बुबा बलबहादुर श्रेष्ठ (७४) को हत्या गरेको आरोपमा रामलाल पक्राउ परेका हुन । घट्नापछि फरार रहेका उनलाई घर नजिकै रहेको ढोडेनी वनमा लुकेर बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरीले नाएको छ ।
प्रहरीका अनुसार ८ कात्तिकमा बलबहादुर र जेठा छोरा रामलालबीच अंशका विषयमा विवाद भएको थियो। विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए । त्यसपछि हँसिया र फलामको आग्लो प्रहार गर्दै घाँटी थिचेर हत्या गरेका थिए ।
उनलाई आईतबार जिल्ला अदालतमा उपस्थित गराई ७ दिन हिरासतमा राख्ने म्याद लिएर घट्नाको विषयमा अनुशन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर गोलेले जानकारी दिए ।
