विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषित गर्दै पुरस्कृत गरेको छ।
डीएसपी हमालले जिम्मेवारी निर्वाहका क्रममा उच्च मनोबल, साहस र व्यावसायिकताका साथ उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा विभिन्न समुदायका व्यक्तिबीच भएको झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नियन्त्रणमा डीएसपी हमालको नेतृत्वमा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको थियो। साउन २७ गतेसम्म उक्त क्षेत्रमा प्रहरी परिचालन गरी संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाइएको थियो।
प्रहरीका अनुसार सुरक्षा परिचालनमार्फत सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा हुन सक्ने आगजनी, तोडफोड तथा थप जनधनको क्षति रोकिएको थियो। साथै, हिंसामा मृत्यु भएका व्यक्तिहरूको दाहसंस्कारका क्रममा समेत उचित सुरक्षा प्रबन्ध मिलाइएको थियो।
त्यसैगरी, डीएसपी हमालको नेतृत्वमा इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट २३.१३ ग्राम ब्राउन सुगरसहित उल्लेख्य संख्यामा लागूऔषध कारोबारी पक्राउ गरिएको थियो। विभिन्न स्थानबाट भन्सार छली ल्याइएका कपडा तथा खाद्यान्न सामग्रीसमेत बरामद गरी भन्सार कार्यालय सुनसरीमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
जिम्मेवारीलाई अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ ढंगले निर्वाह गर्दै नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने तथा प्रहरी संगठनको गरिमा अभिवृद्धिमा योगदान पुर्याएको मूल्याङ्कन गर्दै डीएसपी हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
