काठमाडौं । किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक्ट K69 का गभर्नर डा. रामशरण थपलियाले रसुवा, नुवाकोट र धादिङमा आएको भीषण बाढीबाट प्रभावित बालबालिका तथा परिवारको तत्काल उद्धार, उपचार र राहतका लागि सबै पक्षलाई सक्रिय हुन अपिल गरेका छन्।
बुधबार बिहान भोटेकोशी नदीमा आएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीबाट जनधनको क्षति हुनुका साथै बालबालिका तथा अन्य नागरिक प्रभावित भएका छन्।
किवानिज नेपाल डिस्ट्रिक्टका तर्फबाट जारी गरिएको अपिलमा डा. थपलियाले प्रभावित बालबालिका तथा परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
‘विपद्को यस कठिन घडीमा प्रभावित बालबालिका तथा परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै मिलेर तत्काल सहयोग र सहकार्य गर्न आवश्यक छ। बालबालिकाको जीवनमा आशा र सुरक्षा कायम गर्न हाम्रो सामूहिक प्रयास निरन्तर रहनेछ,’ डा. थपलियाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
उनले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालालाई उद्धार, उपचार र राहत कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्।
किवानिज इन्टरनेशनलको मूल भावना ‘Serving the Children of the World’ अनुरूप विपद्बाट प्रभावित बालबालिका तथा परिवारको सहयोगमा किवानिज नेपाल डिस्ट्रिक्ट हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता पनि अपिलमा व्यक्त गरिएको छ।
साथै, प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, औषधि तथा अस्थायी बसोबासको व्यवस्था गर्न सम्बन्धित निकायलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।
उद्धार तथा राहतमा निरन्तर खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह, प्रशासन, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा समुदायका सदस्यप्रति किवानिज नेपाल डिस्ट्रिक्टले सम्मान तथा आभार व्यक्त गरेको छ।

