काठमाडौं । सिन्धुपाल्चोक कारागारबाट सुरुङ खनेर फरार भएका कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा एक कैदीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।
०७२ सालको भुकम्पको फाईदा उठाएकार भागेका सुनसरीको इनरुवा नगरपालिका–१०, वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले विहिबार साँझ पक्राउ गरेको हो ।
दुई पटकसम्म जेलबाट भागेका यादव पछिल्लो पटक भने प्रहरीलाई छक्याएर भारत पुगेका थिए ।
पहिलो पटक सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ खनेर भागेका यादव दोस्रो पटक पनि सिन्धुपाल्चोक कारागारबाट सुरुङ खनेरै भागेका हुन् ।
त्यसयता भने उनी प्रहरीको कब्जामा आएका थिएनन् । चाडपर्वका बेला गाउँ आउजाउ
गर्ने गरेको सूचनाका आधारमा निगरानी गरिरहेको प्रहरीले छठ पर्वमा घर आएका बेला यादवलाई कोशी गाउँपालिका–८, पत्थरचट्टाको सँझिया घाटबाटै पक्राउ गरेको हो ।
सुनसरी प्रहरीका डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार छठमा रमाइरहेका यादव प्रहरीलाई देखेपछि भाग्न खोजेका थिए । त्यसक्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । प्रहरीले गोली चलाएपनि यादवलाई भने लागेन ।
तर, आत्तिएका उनी आफै लडे । त्यही मौका पारेर प्रहरीले उनलाई पक्राउ गरेर बाँकी सजाय भुक्तानका लागि शुक्रबार नै कारागार चलान गरेको छ ।
डीएसपी तिमिल्सिनाका अनुसार यादव र उनका साथी श्याम भनिने श्यामकुमार यादवले मिलेर १६ वैशाख ०६५ मा सुनसरीको साविक प्रकाशपुर– ६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । त्यसबेला प्रहरीले उनीहरूलाई एउटा पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
जिल्ला अदालत सुनसरीले
हत्या आरोपमा दोषी ठहर गर्दै २० वर्ष ८ महिना १४ दिन कैद सजायको फैसला सुनाएपछि उनी झुम्का कारागार चलान भएका थिए । २३ कात्तिक ०६९ को राती यादव, बंगलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कैदी सुरुङ खनेर फरार भए ।
लगत्तै उनलाई प्रहरीले सप्तरीको गोबरगाडाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागार चलान गरेको थियो । प्रहरीका अनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन् ।
यता, १२ वैशाख ०७२ को भूकम्पका बेला उनी फेरी पनि सुरुङ खनेर कारागारबाट भागेका थिए ।