काठमाडौं । नेपाल प्रहरीमा सिनियर प्रहरी अधिकृत नायब महानिरीक्षक (डिआईजी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म एकसय भन्दा बढी पद रिक्त छ । त्यसैले प्रहरी प्रधान कार्यालय तत्कालै बढुवाको तयारीमा जुटेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा भाल लिन अहिले बेलायतमा छन् । १९ देखि २२ कात्तिकसम्म सञ्चालन हुने उक्त महासभाको समापनपछि उनी नेपाल फर्कनेछन् । त्यसपछि बढुवा गर्ने तयारी रहेको स्रोत बताउँछ ।
बढुवामा सबैभन्दा बढी चर्को प्रतिस्पर्धा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मै देखिएको छ । हाल एसएसपीका १२ पद रिक्त छन् । यसका साथै प्रहरी नायब महानिरीक्षक (डिआईजी)को समेत ८ दरबन्दी रिक्त छन् । रिक्त डिआईजीको दरबन्दीमा ८ एसएसपीको बढुवा सिफारिस गरेपछि रिक्त एसएसपीको दरबन्दी २० पुग्छ ।
त्यसैले एसएसपी बढुवाका आकांक्षी ४० भन्दा बढी प्रहरी उपरीक्षक (एसपी) छन् । पहिले डिआईजी बढुवा गरेपछि एसएसपीको बढुवा गर्ने तयारी भएकाले रिक्त हुने २० एसएसपीका लागि दुई ब्याचीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरु र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरुबीच हुनेछ । २०५६ मा भर्ना भएकाहरुमध्ये ६ जना अहिले पनि एसपी छन् । जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् ।
यद्यपी उनीहरु पनि २०५८ कै टोलीसँग एसपीमा बढुवा भएका थिए । २०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरु पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा पहिलो लटमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए ।
२०५८ का ब्याचीहरु पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए । कार्की, सिंह र बस्नेत भने २०५८ कै टोली दोस्रो लटमा २०७७ वैशाखमा हुँदा उनीहरु पनि बढुवा भएका थिए ।
यसरी पनि अहिलेको एसएसपी बढुवा अलि पेचिलो बनेको बताइन्छ । हालका आईजीपी कुँवर प्रहरी संगठनमा नेतृत्व विकास गर्नेगरी बढुवाको तयारीमा रहेको प्रहरी प्रधान कार्यालयका कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।
यता, २०५८ को ब्याचबाट रमेश थापा पहिलो नम्बरमा बढुवा हुने सम्भावना छ । साथै दोस्रो, तेस्रो र चौथो वरियतामा कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसको लागि विवादित एसपीहरु लागिपरेका छन्, तर आईजीपी कुँवर उनीहरुलाई अगाडि ल्याउन त परै जाओस् बढुवामै सिफारिस नगर्ने पक्षमा रहेको स्रोत बताउँछ ।
२०७५ फागुन ३ मा एसपी बढुवा भएको सूचीबाट विवादमा परेका प्रकाश रानाभाट र कमल थापा बाहेक जनार्दन जीसी, कृष्ण कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, नवराज अधिकारी र बीरबहादुर बुढालगायतको टोली बढुवामा पर्ने देखिन्छ ।
त्यस्तै होविन्द्र बोगटी, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अजय केसी, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, बेद विष्ट, राजेन्द्र धमला पनि बढुवाका दाबेदार हुन् । उनीहरुमध्ये बोगटी, ज्ञवाली, ढकाल, राठौर, धमला प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृत हुन् ।
उनीहरु एसएसपी बढुवा सिफारिस भएपछि ३२ प्रहरी उपरीक्षक (एसपी) र ६४ नायब उपरीक्षक (डीएसपी)को पनि पद रिक्त हुनेछ । लगत्तै एसपी र डिएसपी बढुवा समेत निस्किने बताइएको छ ।