काठमाडौं । झापाको दमक नगरपालिका–९ का देशु भनिने यमु निरौला (३७) को हत्या प्रकरणका आरोपीलाई राजनीतिकका कारण प्रहरी पक्राउ नगरेको भन्दै शनिवार आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।
आक्रोशित स्थानीय र आफन्तले इलाका प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर प्रर्दशन गरेका हुन् । प्रहरी कार्यालय अगाडि नै टायर बालेर प्रदर्शन गरेपछि दमकको अवस्था तनावपूर्ण बनेको थियो । हत्या भएको ५ दिन बितिसक्दा पनि हत्यारालाई पक्राउ नगरेको भन्दै आफन्तले शव पनि बुझ्न मानेका छैनन् ।
शव दमक अस्पतालमा राखिएको छ । मृतकका परिवारले बुधबार दमक– ८ का बुद्धि थापा, नम चेम्जोङ, दमक– ३ का राजु भनिने शेरबहादुर नेम्वाङ, संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, मोरङ उर्लाबारी– ६ का प्रकाश कार्की, उर्लाबारी– ७ का ध्रुव गौतम र सुनसरी इटहरीका डेबिड घलेविरुद्ध जाहेरी दिइएको थियो ।
प्रहरीले आरोपित मध्ये २ जनालाई मंगलबार पक्राउ गरे पनि अन्य ब्यक्तिलार्य पक्राउ गरेको छैन । राजनीतिक दबाबका कारण कतिपयलाई प्रहरीले पक्राउ नगरेको स्थानीयको आरोप छ । उनीहरुका अनुसार किटानी जाहेरीमा परेकामध्ये बुद्धि थापा नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ हुन् ।
यता, प्रहरीले भने हत्या भएको स्थल दमक–३ मा पुगेका दुइवटा गाडीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । जाहेरी परेका बाहेक अन्य पनि केही ब्यक्तिको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ ।
निरौलाको मंगलबार दमक– ३ स्थित मावा खोलानजिक हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जग्गा विवादका कारण भेला भएकाहरुको बीचमा विवाद भएपछि उनीहरुको कुटाइबाट निरौलाको मृत्यु भएको हो ।
त्यो जग्गा लामो समयदेखि विवादित थियो । विगतमा क्रसर राखिएको जग्गामा एउटा पक्षले खरिद गरेको भन्दै एक्स्काभेटर लगेर सम्याउन थालेपछि विवाद भएको स्थानीयले जनाएका छन् ।
