काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एक हप्तादेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगीमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि कास्की प्रहरीले बयान लिइरहँदा गोरखा मिडियाका गितेन्द्रबाबु राई (जीबी) बीच भएका फोनवार्ता समेत प्रहरीले केलाउन थालेको छ ।
रवि र जीबीबीच भएका संवाद, एसएमएस आदानप्रदान, गोरखा मिडियालगायतका विषयमा भएका कुराकानीलगायत सबै केलाउने काम भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।
लामिछानेको बयान लिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)देखि प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वको चार जनाको टोलीले पनि सहयोग गरिरहेको छ ।
यसैबीच रविमाथि सम्पत्ति शुद्धिकरणका विषयमा पनि अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन् । उनको निजी र परिवारको सम्पत्तिको स्रोतको खोजी हुनेछ ।
सहकारी ठगी गरी गोरखा मिडिया प्रा.लि.मा रकम स्थानान्तरण गर्दै त्यसको अपचलनमा जीबीसहित रवि र पूर्वडीआईजी छविलाल जोशीमाथि अनुसन्धान गरिएको हो । जीबी भने फरार रहेका छन् ।
