काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच आईजीपी कुँवरले भवनको उद्घाटन गरेका हुन् ।
साथै उनले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गरे । प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्यारउने व्यक्तिहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरलले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्या उने व्यक्तिहरूप्रति आभार प्रकट गरे । भवन निर्माणसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए ।
नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन उनले निर्देशन दिए ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायब उपरीक्षक ई. शम्भु प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरीको नियमित बजेटबाट निर्मित तीन तले उक्त भवन कूल ५ करोड १५ लाख ५२ हजार ३३३ रुपैयाँ १५ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

उक्त कार्यालय भवनको भुइँ तल्लामा २ वटा स्टोर रुम, प्रहरी उपरीक्षक कक्ष एक, शौचालय तीन, कार्यालय कक्ष चारवटा रहेको छ । त्यस्तै पहिलो तल्लामा कार्यालय प्रमुख कक्ष एक, मिटिङ हल एक, स्टोर रुम एक, शौचालय ३, कार्यालय कक्ष ४ वटा रहेको जनाइएको छ ।
यसैगरी दोस्रो तल्लामा प्रहरी निरीक्षक कक्ष ४, शौचालय कक्ष ३, सञ्चार कक्ष १ र तेस्रो तल्लामा कम्युटर कक्ष १, कार्यालष् कक्ष २ वटा रहेको छ ।
सम्पन्न भवनको सम्झौता २०७९ फागुन ३ गते भएको थियो । सोहीअनुरुप २०८१ कात्तिक ८ गते भवन निर्माण सम्पन्न भएपछि उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
