काठमाडौं । झापामा रात्रीबसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातीनीको मृत्यु भएको छ । उनीहरुको मृत्युपछि झापाको केर्खा बजार तनावपूर्ण बनेको छ ।
त्यहाँको स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुढा गरिरहेका छन् ।
करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् ।
असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अशु ग्यास समेत प्रहार गरेका छन् ।
काँकडभिट्टाबाट काठमाडौं हिँडेको रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।
स्थानीय मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको थियो । उनीहरूको शव सडकमा राखिएको छ ।
मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो ।
