पोखरा । लमजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको लमजुङबाट संघमा प्रत्यक्ष निर्वाचित पृथ्वीसुब्बा गुरुङ र प्रदेश सभातर्फ निर्वाचित डा. टकराज गुरुङ र भेषबहादुर पौडेल प्रदेशमा मन्त्री बन्न सफल भएका हुन् ।
लमजुङबाट निर्वाचित संघमा पृथ्वीसुब्बा र प्रदेशमा डा. टकराज मन्त्रीमात्रै होइन, सरकारको प्रवक्तासमेत छन् ।
नेकपा माओवादीका महासचिवसमेत रहेका प्रतिनिधि सभा उम्मेदवार देव गुरुङलाई हराउँदै विजयी भएका एमाले उपमहासचिव पृथ्वीसुब्बा केपी ओली प्रधानमन्त्री भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए ।
गण्डकी प्रदेशको स्थापना कालका मुख्यमन्त्री हुँदै संघको टिकट पाएर सांसद बनेका पृथ्वीसुब्बालाई ओली सूचना मन्त्री बनाउँदै सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।
लमजुङमा एमालेबाट संघमा पृथ्वीसुब्बाले चुनाव जित्दा प्रदेशतर्फ भने दुवै जना नेपाली कांग्रेसबाट विजयी भएका थिए ।
पछिल्लो पटक सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि लमजुङ प्रदेश सभा ‘क’तर्फबाट विजयी डा. टकराजलाई गत जेठ १६ गते अर्थमन्त्री नियुक्त गर्दै सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएका थिए ।
अर्थमन्त्री डा. टकराजले चालु आर्थिक वर्षको बजेट ल्याएका छन् । उनले लमजुङमा एमालेका प्रभावशाली नेता जमिन्द्रमान घलेलाई हराउँदै प्रदेश सांसद बन्न सफल भएका थिए । डा. टकराज कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन् ।
गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराजले भौतिक मन्त्री रहेका स्वतन्त्र सांसद दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, मनाङे कम प्रभावशाली मन्त्रालय दिएको भन्दै अस्वीकार गरेर राजीनामा दिएपछि रिक्त वन तथा वन तथा वातावरण मन्त्रालयमा सोमबार लमजुङकै भेषबहादुरलाई जिम्मेवारी दिएका हुन् ।
मनाङेले राजीनामा दिएपछि कांग्रेसको संस्थापनइतर शेखर कोइराला–गगन थापा समूहका भेषबहादुरलाई मन्त्री बनाएका छन् । गण्डकीमा देउवा समूहबाट मात्र मन्त्री थिए ।