पोखरा । सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा हिजो काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले शनिबार सडक मार्ग हुँदै बिहान ३ बजे पोखरा ल्याई पुर्याएको हो ।
सूर्यदर्शन सहकारीसहित सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दाबढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि स्वास्थ्य परिक्षणपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याउने बेला उनका समर्थकहरूले केहीबेर नाराबाजीसहित अवरोध गरेका थिए । कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर ल्याइएको हो ।
पोखरा ल्याएका लामिछानेलाई शनिबार सार्वजनिक विदा परेकाले अदालत पेस गरिने छैन । उनलाई आइतबार मात्र अदालत पेस गर्ने तयारी प्रहरीको छ ।
लामिछानेविरुद्ध सहकारी रकम अपचलन र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालतसँग अनुमति माग गरिने छ । म्याद थपको अनुमति पाए पछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधविरुद्ध अनुसन्धान अघि बढाउने छ ।
सहकारी रकम अपचलन सम्बन्धी संसदीय विषेश समितिले रास्वपा सभापति लामिछानेसहित अन्य व्यक्तिहरुको संलग्नता देखिएको भन्दै पक्राउ गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।