चितवन । बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजु–बहिनी दीपेश भट्टराई, दीपिका भट्टराई र आमा सीता भट्टराई धादिङको झ्याप्ले खोला पहिरोमा अस्ताएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएका उनीहरु बुटवलबाट काठमाडौं जाँदै थिए । सोही क्रमश लगातारको भिषण वर्षासँगै पहिरोले उनीहरु सवार विङ्गर धादिङको झ्याप्ले खोलामा पुरेको थियो ।
पहिरोमा पुरिएर १५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट आएका १४ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ ।
उनीहरु विद्यालयमा आयोजना हुने हरेक प्रकारका गतिविधिहरुमा सहभागि हुन्थ्ये । अनलाइनबाट फर्म भरेर उनीहरूले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो ।
बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागीता रहने थियो । उनीहरू कक्षा १० अर्थात् एसईईको तयारी थिए । तर, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले विदा दियो ।
विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रो विङ्गरमा काठमाडौं जान उनीहरूले ट्राफिकचोकको काउन्टरमा पुगेर टिकट काटे र सोही माइक्रोमा काठमाडौँ जाँदै थिए ।
तर, उनीहरु सवार विङ्गर धादिङको झ्याप्ले खोलामा पुरिदा आमासँगै जुम्ल्याहा–दाजु बहिनीको मृत्यु भएको हो ।
दीपेश दीपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् ।
