काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रमुख छन् प्रहरी नायब महानिरीक्षक (डिआईजी) अर्जुन चन्द ठकुरी । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा कार्यरत रहँदा उनी विवादमा तानिएका प्रहरी अधिकृत हुन् ।
उनै डिआईजी चन्द पुनः विवादमा तानिएका छन् । मंगलबार राति रक्सी खाएर होहल्ला गर्दै कार्यालयबाट भागेको पाइएको छ । कार्यालयबाट भागेपछि उनी काठमाडौं जान्छु भन्दै रात्रीबस चढेको स्रोतको दाबी छ । उनी सुर्खेत देउती प्रा.लि.को क.प्र. ५७२९ नम्बरको सुर्खेत काठमाडौं रात्रीबस चढेका थिए ।
रक्सीको नसामा काठमाडौं जान लागेको थाहा पाउनासाथ उनलाई सुब्बाकुना चोकबाट फर्काइएको छ । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले बसबाटै फिर्ता ल्याएका हुन् । कार्यालय ल्याउनासाथ उनले धमाधम प्रहरी जवान तथा हवल्दारहरुको काज सरुवा समेत निकालेको बताइन्छ ।
गोप्य स्रोतकाअनुसार डिआईजी चन्दले मंगलबार राति कार्यालयबाहिर रक्सी खाएर आएपछि उनी कार्यालय फर्किएका थिए । तर, त्यसको केहीसमयमै उनले कसैलाई थाहा नै नदिई कार्यालयबाट भागेर काठमाडौं जाने बस चढेका हुन् ।
पछिल्लो १०,१५ दिनदेखि चन्द दिनहुँ रक्सी खाने र प्रहरी कर्मचारीहरुलाई दुःख दिने गरेका छन् । चन्दको उदण्ड गतिविधिले सुर्खेतका सर्वसाधारणदेखि कार्यालयमा कार्यरत प्रहरीहरु आजित हुन परेको छ ।
जसको गुनासो प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरसमक्ष पुगेको छ । त्यसपछि आइजीपी कुवरले उनलाई तत्काल परिवर्तन गर्न लागिपरेका छन् । स्रोतकाअनुसार उनको सम्भवत आजभोलीमै सरुवा हुनेछ ।
