काठमाडौं । झापाको शिवसताक्षीमा गएराति रक्सीले मातेका दाजुले आफनै भाइको हत्या गरेका छन् ।
शिवसताक्षी नगरपालिका– ८ शितल चोकका नारायण सिटौलाले भाइ ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेका हुन् । नारायणलाई इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ ।
रामप्रसादको शव गएराति करिब ९ बजे घरको पछाडिपट्टी उत्तानो परेको अवस्थामा फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको र रगत लागेको अवस्थामा छेउमा दाउराको चिर्पट समेत फेला परेको इन्स्पेक्टर सुशिल थापामगरले बताए ।
सोही चिर्पटले हानेर रामप्रसादको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ ।
दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरेको हुनसक्ने आशंका छ । तीन जना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला र नारायण जेठा हुन् ।
शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको छ ।
