काठमाडौं । श्रीमान् गुमाएको तीन महिना नपुग्दै २१ वर्षीया छोरी पनि गुमाउनुपर्दा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ की ५५ वर्षीया लक्ष्मीदेवी देउवालाई बज्रपात परेको छ । ब्लड प्रेसरका बिरामी उनका पति वितेको २६ भदौमा ३ महिना पुगेको थियो ।
सोही दिन (२६ भदौ) मा कान्छी छोरी २१ वर्षीया विमलाले पनि आत्महत्या गरेपछि लक्ष्मीले संसार उजाडिएको महसुस गरिरहेकी छिन् । स्थानीयका अनुसार डडेल्धुरा सदरमुकामस्थित डडेलधुरास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी उनी रिजल्ट बिग्रिएको तनावमा थिइन् ।
सदरमुकामबाट फर्किएपछि केही दिनअघि आमासँग ‘मरिदिन्छु नी’ समेत भनेको खुलेको छ । परिवारको कुरा सुुन्दा रिजल्ट बिग्रिएकै कारण उनले मृत्युको बाटो रोजेको जस्तो देखिएको वडाध्यक्षसमेत रहेका छिमेकी चक्र देउवा बताउँछन् ।
उनका अनुसार विमलाको स्वभाव राम्रै थियो । उनले यस्तो बाटो रोज्लिन भनेर कसैले कल्पना नै नगरेको उनको भनाई छ ।
परिवारले आउँदो मंसिरमा उनको बिहे गर्ने तयारी गरिरहेको थियो । तर, उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । लक्ष्मीका जेठा छोरा बुवाको किरिया सकेर रोजगारीका लागि भारतमा छन् । घरमा लक्ष्मीसहित विमला, बुहारी र ससाना तीन जना नातिनातिना बस्थे ।
घटना भएको दिन खाना खाएर लक्ष्मी बाख्रा चराउन र वुहारी घाँस काट्न गएका थिए । तर, विमला घरमै थिइन् । बेलुका सबै घर फर्किएपछि विमलाको खोजी भयो । केटाकेटीलाई हेर्न पठाउँदा कोठामा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
विमला सामाजिक सञ्जाल टिकटकमा सक्रिय रहेको पाइएको छ। टिकटकमा उनका २ लाख २४ हजार फलोअर्स छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दीपक कार्कीका अनुसार आत्महत्याको कारण खुलेको छैन ।
