बारा । विभिन्न समय र स्थानबाट बरामद गरिएका ३१ लख भन्दा बढिका भन्सार छलीका समानसहितको ट्रक बारा प्रहरीले आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भन्सार छलीका र बिल बिजकभन्दा बढि सामानको स्रोत खुलाउन नसकेका ३१ लाख ५१ हजार ४ सय ६९ रूपैंया बराबरको विभिन्न समानहरू बुझाइएको हो ।
बुधबार दिनभरिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका समानहरु आवश्यक कारवाहीका लागि बुझाइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
भन्सार छली ल्याउँदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप कड्डु १८ पिस, सुतिको गम्छा २६ पिस गरीरू. १८ हजार बराबरको समान कलैया उपमहानगरपालिका वडा नं.१ कलैया चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय जीतपुरको टोलीले जीतपुर चोकमा चेकजाँच गर्दा वीरगञ्ज बाट पथलैयातर्फ जादै गरेको ना. १ ज ३२४२ नं. को म्याजिक गाडीको डिक्की भित्र लुकाई छिपाई लगि रहेको २ बोरा चिनी रू. ९ हजार मूल्य बराबरको समान नियन्त्रणमा लिएको हो ।
त्यस्तै वीरगञ्ज बाट काठमाण्डौतर्फ जादै गरेको ना.७ ज ५९२७ नं. को डिब्बे ट्रक चेकजाँच गर्दा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको रू. २७ लाख ५० हजार ५ सय ८९ बराबरको खुद्रा सामानसहित डिब्बा ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ईलाका प्रहरी कार्यालय प्रसौनीले बिश्रामपुर गाउँपालिका २ घोडासहनबाट भन्सार छली गरी ल्याएको रू. २० हजार बराबरको किसमिस नियन्त्रणमा लिएको थियो ।
प्रहरी चौकी पथलैयाले गर्ने नियमित चेकजाँचका क्रममा बिराटनगरबाट काठमाण्डौँ तर्फ जाँदै गरेको प्र. १–०२–००२– ख ०१६२ नं. को बसमा बिल बिजक भन्दा बढी रहेको रू.३ लाख १६ हजार ८०० बराबरको ३९६ पिस कपडा नियन्त्रणमा लिएको थियो ।
त्यस्तै रौतहटबाट काठमाण्डौँतर्फ जाँदै गरेको प्र.०३–००१ ख २४९७ नं. को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्की भित्र लुकाई छिपाई लगी रहेको चिनी ५० किलो, प्याज ४०० किलो, सुर्ती ४० किलो गरी रू. २७ हजारको समान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कचोर्वाको टोलील सिम्रौनगढ नगरपालिका वडा नं. ९ बसवरीयाबाट भन्सार छली गरी ल्याउँदै गरेको रू. १० हजार असी बराबरको ६ कार्टुन मजा जुस नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा लिएका सबै समान ट्रक सहित राजश्व कार्यालयमा विहिबार बुझाइएको हो ।
