यतिबेला प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बहालवाला प्रहरी कर्मचारीहरुलाई नेता भेट्न रोक लगाएको विषय चर्चामा छ । जसकारण प्रहरी संगठनभित्र सरुवा–बढुवामा अत्याधिक चलखेल बढेको बुझ्न सकिन्छ ।
अफिसियल काम बाहेकको अवस्थामा नेतालाई भेटे विभागीय कारबाही हुने भन्दै प्रहरी प्रधान कार्यालयले परिपत्र नै गरेको छ । राजनीतिक व्यक्तित्वसँग मात्रै नजिकिएर कुनै पनि प्रहरीले सरुवा-बढुवा नहुने उल्लेख गर्दै कुँवरले त्यस्ता व्यक्तिहरूको रेकर्ड राख्ने चेतावनी दिएका छन् ।
प्रहरी उपरीक्षकसम्मको सरुवा-बढुवाको अधिकार महानिरीक्षकलाई छ । तर, चौतर्फी दबाबका कारण समय पुग्दासमेत प्रहरी महानिरीक्षक कुँवरले प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरुको सरुवा गर्न सकिरहेका छैनन् । त्यसैले उनले नेता भेट्न रोक लगाएका हुन् ।
यसरी कुँवरले नेता भेट्न रोक लगाएपछि सामाजिक सञ्जालहरुमा अनेकन टिकाटिप्पणीहरु भएको छ । धेरैले यस निर्णयलाई राम्रो भनिरहेका छन् भने केहीले विरोध जनाएका छन् ।
समग्रमा हेर्दा यो निर्णय प्रहरी संगठनभित्र कडाईका साथ लागू हुनुपर्ने देखिन्छ । एउटा प्रहरीले कस्तो काम गर्छ, कसरी गरिरहेको हुन्छ, कसको लागि गरेको छ ? यावत् प्रश्नहरुको जानकारी नेताहरुलाई भन्दा संगठन प्रमुखलाई थाहा हुने गर्छ ।
जसले गर्दा मापदण्डअनुसार कुन प्रहरी अधिकृतलाई कुन ठाउँमा खटाउने निर्णय संगठन प्रमुखले गर्दा राम्रो हुन्छ । नेताहरुको सिफारिसमा सरुवा गर्दा चेन अफ कमाण्ड नै भत्कने गरेको धेरै उदाहरणहरु छ ।
नेताको सिफारिसमा कुनै जिल्ला इन्चार्ज भएर गएको प्रहरीले संगठन प्रमुखको आदेश भन्दा नेताको आदेश मान्ने गर्छ । जसकारण उक्त जिल्लामा आपराधिक गतिविधि बढ्नुको साथै अन्य प्रहरीहरुको काम गर्ने मनोबल समेत गिर्ने गर्छ ।
त्यस्तै कतिपयले नेता कुनै प्रहरीको आफन्त रहेछन् भने चाहिँ त्यस्तो बेला के गर्ने ? भनेर प्रश्न गरेको पनि देखियो । यस विसयमा प्रहरी प्रवक्ता दानबहादुर कार्की भन्छन्, ‘त्यस्तो रहेछ भने भेट्नै नपाउने भन्ने होइन । भेट्न पाइन्छ, गफ गर्न पनि पाइन्छ । तर, त्यही नेतामार्फत सरुवा-बढुवाको लागि चाहिँ सिफारिस पुग्न भएन ।’
वर्तमान प्रहरी महानिरीक्षक कुँवर जो प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृत हुन् । सबैलाई मिलाएर लैजानपर्छ भन्ने सोच बोकेका कुँवरले संगठनमा कसैलाई अन्याय गरेका छैनन् । ‘गर्नेवाला पनि छैन्,’ उनी भन्छन् ।
यसअघिका प्रहरी महानिरीक्षकहरुले गुटबन्दी गरेर प्रहरी संगठन चलाइरहँदा कुँवरले कसलाई काखी च्यापे र कसलाई पाखा लगाए ? सबैलाई समान व्यवहार गर्ने गरेका कुँवर आफैं विवादरहित प्रहरी हुन् ।
त्यसैले प्रहरी महानिरीक्षक कुँवरको खुट्टा तान्ने काम होइन, मनोबल गिराउने काम होइन, उनले गरेका कामको प्रशंसा गरौं । सहयोग गरौं । जसकारण प्रहरी संगठनमा एउटा थीति बस्नेछ, बसाल्नेछन् ।
०००
सरुवामा चलखेल गर्नेहरुले कुँवरमामाथि अत्यधिक दबाब दिइरहेका छन् । कतिसम्म भने प्रधानमन्त्री, गृहमन्त्री निकटका व्यक्तिलाई भेटेर सरुवा मापदण्ड नै संशोधनका लागि समेत दबाब दिएका छन् ।
पहिला ‘क’ वर्गको जिल्ला कार्यालयमा बसेकाहरु सरुवा मापदण्ड नै संशोधन गराएर फेरि ‘क’ वर्गमै जानका लागि आर्थिक चलखेल गरिरहेको सूचना कुँवरले पाएपछि नेता भेट्न रोक लगाउँदै चेतावनी दिएका हुन् ।
सोहीकारण प्रधान कार्यालयले जारी गरेको परिपत्रमा संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गर्न खोजेको बताइएको छ । उच्च तहबाट अनावश्यक दबाब आएपछि प्रहरी महानिरीक्षकले सरुवा गर्न सकेका छैनन् ।
परिपत्रिमा भनिएको छ ,‘विभागीय नीतिनियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘चेन अफ कमाण्ड’मा चल्ने संगठनमा यसरी सरुवामा चौतर्फी दबाब दिन थालेपछि संगठन प्रमुखले नेता भेट्न रोक लगाउनु राम्रो कुरा हो । मापदण्डअनुसार सरुवा गर्नुपर्छ भन्ने पक्षमा रहेका कुँवर मापदण्डलाई नै कुल्चिएर जान खोजेपछि रुष्ट बनेका हुन् ।
