काठमाडौं । कोशी प्रदेशअन्तर्गत तराईको तीन जिल्लामध्ये सबैभन्दा ठूलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने गरेको पाइएको हो ।
विशेष गरी राती र बिहानको समयमा झापाको काकरभिट्टा, मेचीनगरपालिका–६ को तुर्केनी फुटबल ग्राउन्ड, दुर्गा मन्दिर छेउ, इलाका प्रहरी कार्यालय काकरभिट्टाको उत्तरपट्टी रहेको नाका, नगकलबन्दा जाने हडीकसम नाकाबाट खुलेआम तस्करी हुने गरेको बताइएको छ ।
अहिले उक्त नाका औपचारिक रूपमा तस्करीमा प्रयोग भएको पाइएको छ । तस्करी धन्दामा लागेका गिरोहले यी नाकाहरूबाट भारतबाट कपडा र खाद्यजन्य सामाग्रीहरू ल्याउने गरेका छन् । त्यस्तै नेपालबाट भारततर्फ सुपारी तस्करी हुने गरेको छ ।
तस्करहरुले स्थानीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरीसँग लाइन मिलाएर दैनिक लाखौं मुल्य बराबरको अबैध सामान भित्र्याउने गरेका छन् । नेपालीहरुको महानपर्व दसैं नजिकिएसँगै प्रहरीलेसमेत तस्करीको लाइन खुकुलो बनाएको स्रोत बताउँछ ।
झापाको दक्षिणी क्षेत्र भद्रपुर, पृथ्वीनगर, बनियानी, केचनालगायतका नाकाहरुबाट पनि लागूऔषध, सुर्ती, मोटर पार्टस र लत्ताकपडा नेपाल आइरहेको छ । झापामा तीनवटा सुर्तीजन्य उद्योग सञ्चालनमा आइरहेपनि भन्सारमा सुर्तीको राजश्व नकाटेका कारण सुर्ती भन्सार छलेर नेपाल आइरहेको पुष्टि हुन्छ ।
तस्करी धन्दामा लागेका झापाका श्याम थापाले नगकलबन्दाको हडीकसम र तिरिङ खोलाको नाका, राजन खड्काले चर्च नाकाको जिम्मा लिएर अहिलेपनि भारतबाट तस्करीको कपडा ल्याउने गरेका छन् । यस्तै रामे राय र बिरे लिम्बुले पनि कपडाको क्यारिङ गर्दछन् ।
तस्करी भइरहेको विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले प्रहरीको सक्रियतामा सामान बरामद भइरहेको बताउँछन् । प्रहरीको तस्करसँग मिलोमतो नभएको उनले दाबी गरे ।
सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ सँगै साधा पोशाकमा खटिए पनि सामान बरामद गरेको भने पाइदैंन । तर, सूचना संकलकको लागि भन्दै साधा पोशाकमा प्रहरी परिचालन गराएपनि उनीहरुले नै तस्करसग साँठगाँठ गरेर लाइन दिने काम गरिरहेको एक कारोबारीले बताए ।
भद्रपुरका राजा, तुलाराम नाम गरेका कारोबारीले भद्रपुरस्थित बक्सरभिट्टा र इलामको पशुपतीनगरवाट भन्सार छलेर कपडाको काम गरिरहेका छन् । पशुपतीनगर नाकामा भारतको कस्टम नभएकाले व्यापारीक प्रयोजनका लागि नेपालमा सामान ल्याउन नपाइने नियम रहेपनि मिलोमतोमा दैनिक लाखौ मूल्य बरावरको सामान नेपाल भित्र्याइरहेका छन् ।
प्रहरी संगठनमा बेलाबेला विवादमा आउने गरेका एसपी केसीको कमाण्डर क्षमतामाथि सधैं प्रश्न उठ्ने गर्छ । उनी पैसा कमाउनको लागि जस्तोसुकै गतिविधि गर्न पनि पछि हट्दैनन् । डिएसपी हुँदा आर्थिक प्रलोभनमा परेर उनी कारागारमा रहेका गुण्डालाई भेट्न पुगेका थिए । जसकारण उनी प्रहरी वृत्त स्वयम्भुबाट तानिनुपरेको थियो । त्यतिमात्र नभएर बढुवामा समेत पछि परेका थिए ।
उनले झापाको जिल्ला कमाण्ड सम्हालेको ६ महिना भयो । जतिबेला उनले एमाले नेताहरुको फेरो समातेर झापा जिल्लाको नेतृत्व गर्ने मौका पाएका हुन् । तर प्रहरी नेतृत्वले उनलाई त्यहाँ पठाउन चाहेका थिएनन् ।
जसकारण उनको कमाण्डर क्षमता कमजोर रहेको थाहा पाएपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले उनलाई हटाउन खोजिरहेका छन् । गृहमन्त्री रमेश लेखकसमेत एसपी केसीको कार्यशैलीप्रति असन्तुष्ट रहेको स्रोत बताउँछ ।
त्यतिमात्र नभएर प्रहरीकै लाइनमा झापामा गोरु तस्कर समेत हुने गरेको पाइएको छ । गोरु तस्करसम्बन्धी समाचार अर्को श्रृखंलामा ।
