काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको आरोप लगाएका छन् ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ।’प्रधानमन्त्री ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए ।
प्रधानमन्त्री ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीबारे जानकारी गराउँदै समाजमा बढेको अराजकताको ब्रिफिङ गरेका थिए ।
उनले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए ।उनले सरकारको अहिलेसम्मको कामको बारेमा ब्रिफिङ गर्दै कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै निर्धारित समयमै सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।
