काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको छ । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नेताहरूविरूद्व नारावाजी भएको हो ।
कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत उपस्थित थिए ।
मुर्दावादको नारा लागेपछि कार्यक्रममा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा जङ्गिएका छन् । उनले युवाहरूलाई बदमासहरू भन्दै गाली गरेका हुन् ।
देउवाले कार्यक्रमलाई सम्बोधन गर्न थालेपछि झनै नारावाजी भएको थियो । नारावाजीपछि देउवाले भने, ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला छु म । जति गरे पनि गर्नुस् । जति कराए पनि कराउनुस् । जति कराउनु पर्ने छ कराउनुस् । ‘लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! अर्काको कार्यक्रम बिथोल्नेहरु लाज छैन ? यही हो तपाईंहरूको संस्कृति ? यही हो तपाईंहरूको चलन ? यही कुरा सिकेर आएको हो ? बदमासहरू !’
त्यसपछि देउवा सम्बोधनतिर लागे ।
‘आदरणीय दाजुभाई, दिदीबहिनीहरू, यस्तै छ । यहाँ गौरा पर्व सुन्न आएकाहरू छन् । गौरा खेल्न आएका छन् । गौरा पर्वको कुरा सुनुन्,’ देउवाले अघि भने, ‘यिनीहरू सुन्दैनन्, न गौरा खेल्न दिन्छन् । यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन् । यहाँ को–को त्यस्ता छन्, तिनलाई ठिक पार्नुपर्छ ।’
