वीरगन्ज । पर्साको कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारीहरू म्याद थप्ने सहमतिपछि पालिका कार्यालयमा भएको तालाबन्दी खोलिएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा जनप्रतिनिधिहरू बिच भएको आन्तरिक सहमतिपछि तालाबन्दी खोलिएको हो । अगामी भदौ १९ गते पालिकाको गाउँसभा गर्ने र गाँउसभाबाटै निर्णय गरेर कर्मचारीहरुको म्याद थप्ने सहमति पश्चात तालाबन्दी खोलिएको वडा नम्बर ३ का अध्यक्ष संजय पटेलले बताए ।
पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि कर्मचारीहरू बिगत १४ दिनदेखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए ।
९ वर्ष अगाडि तत्कालीन स्वास्थ्य निर्देशनालयले नियुक्त गरेको ६ जना र पालिकाले आफ्नो आवश्यकता अनुसार नियुक्त गरेको २ जना कर्मचारीलाई हटाएर पालिका अध्यक्षले सो ठाउँमा आफ्नो कार्यकता भर्ना गर्न खोजेपछि आन्दोलन सुरू भएको थियो ।
तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरन्तरता दिइएको थियो । उनीहरू संघिय सरकारको अनुदान रकमबाट तलब पाउदै आएका छन । तर पालिका अध्यक्षले पालिकालाई भार परेको भन्दै उनीहरूको म्याद थपेका थिएनन् ।
आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनीहरूलाई निरन्तरता दिने पालिकाको तत्कालीन बोर्ड निर्णय गरि निरन्तरता पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको कार्यकक्षमा भएको वार्तामा पालिका अध्यक्ष बशिष्ठ कुमार, उपाध्यक्ष राजमती देबी,वडा १ का अध्यक्ष लालबाबु चौरसिया, २ का अध्यक्ष सोनालाल चौरसिया, ३ का संजय पटेल , ४ का संजय साह र ५ का अध्यक्ष जयनरायण पटेल सहभागी रहेका थिए ।
