काठमाडौं । प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरीको संगठनमा सम्मान गर्न लायक व्यक्तिहरु भएको बताएकी छन् ।
मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रथम महिला शाक्यले चौबिसै घण्टा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु भएको बताएकी हुन् ।
उनले प्रहरी श्रीमानहरुलाई अगाडि बढाउनका लागि श्रीमतीहरुको पनि महत्वपूर्ण योगदान भएको विश्वास व्यक्त गरिन् । महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुने भन्दै आपसमा सहयोग आदान–प्रदान गर्न उनले आग्रह गरिन् ।
नेपाल प्रहरीका परिवारलाई एक आपसको भावना बुझेर संयमता, धैर्यता र शान्तिपूर्वक अगाडी बढ्न पनि अनुरोध गर्दै उनले भनिन्, ‘चौबिसै घण्टा देशको लागि, राष्ट्रको लागि समर्पित हुने प्रहरीहरु यो समाजका सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु नै हुनुहुन्छ भन्ने मैले ठानेको छु । र आफ्नो श्रीमानहरुलाई अगाडी बढाउनको लागि वास्तवमा उहाँहरुको श्रीमतीहरुले आ–आफ्ना श्रीमानहरुलाई अगाडी बढाउनमा पनि महत्वपूर्ण योगदान छ भन्ने मलाई विश्वास छ ।’
उनले थपिन, ‘अहिले त महिला प्रहरीहरु पनि धेरै हुनुहुन्छ । अझ महिला प्रहरीहरुलाई त कार्यक्षेत्रमा श्रीमानको सहयोग बिना खट्न अवश्य पनि गाह्रो हुन्छ होला । तसर्थ श्रीमान् प्रहरीमा भएपनि, श्रीमती प्रहरीमा भएपनि एकले अर्कोलाई आ–आफ्नो भावना बुझेर, राष्ट्रको ड्युटीलाई बुझेर संयमताका साथ, धैर्यताका साथ आ–आफ्नो परिवार शान्तिपूर्वक अगाडी बढाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु ।’
उनले नेपाल प्रहरी श्रीमती संघलाई प्रहरी जवानहरुको श्रीमतीहरुलाई पनि संगठित गरेर अगाडि बढ्न सुझाव दिइन् ।
