काठमाडौं । भारतको कोलकातामा एक महिला चिकित्सकको जबर्जस्ती करणीपछि विभत्स हत्या भएको विरोधमा चिकित्सकहरू २४ घण्टे आमहडतालमा उत्रिएका छन् ।
हत्याको विरोध र महिला सुरक्षाको आह्वान गर्दै देशव्यापी रुपमा आन्दोलन चर्किएपछि चिकित्सकहरु पनि हड्तालमा उत्रिएका हुन् । इन्डियन मेडिकल एसोसिएसन-आईएमएले आज विज्ञप्ति जारी गर्दै देशभर अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा गरेको हो ।
उक्त निर्णयले आज विभिन्न राज्य र क्षेत्रहरुमा विरामीले सास्ती भोगिरहेको बताइएको छ । आईएमएले महिलाहरूका लागि सुरक्षित ठाउँको अभावका कारण अपराध भएको भन्दै सम्बन्धित निकायसँग न्यायको माग गरेको छ ।
आईएमएले स्वास्थ्यकर्मीलाई हिंसाबाट जोगाउन कानुनको सुदृढीकरण, अस्पतालहरूमा सुरक्षा उपस्थिति बढाउन र सुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरेको छ । साथै मृतक चिकित्सकका परिवारलाई क्षतिपूर्तिको समेत माग गरेको छ ।
गत साता कोलकाताको आरजी कार मेडिकल कलेजकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सक आफ्नो सिफ्टका क्रममा आराम गर्न सेमिनार हलमा जाँदा उनको जबर्जस्ती करणीपछि हत्या गरिएको थियो । उक्त घटनापछि भारतभर विरोध प्रदर्शन हुँदै आएको छ ।
अपराधमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । उक्त मुद्दा स्थानीय प्रहरीबाट भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) मा हस्तान्तरण गरिएको छ । सीबीआईले उक्त विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।
