काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी घटकलाई एकताबद्ध बनाउने बताएका छन् ।
रुकुम पश्चिम–काठमाडौं सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताए। उनले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे ।
आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको बहसले झनै एकताबद्ध बनाएको उनले बताए ।
अध्यक्ष प्रचण्डले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राखेको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए।
उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दृढता व्यक्त गरे ।
पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टि व्यक्त गर्दै उनले स्थायी समितिको निर्णयअनुसार आफू निरन्तर पार्टी बढाउन लागिरहने उल्लेख गरे ।
