काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका-७ खैरेनीका ४८ वर्षीय केशव केसीको भारतमा निधन भएपछि परिवारलाई आर्थिक अभावका कारण काजकिरिया गर्न समेत समस्या भएको छ ।
घरको मुख्य व्यक्तिको नै निधन भएपछि परिवारहरू निकै दुखमा परेका छन्, भने आर्थिक अभावका कारण निकै समस्या भएको पारिवारिक स्रोतले जनाएको छ । भारतको लद्दाख जाने क्रममा उनको बाटो मै निधन भएको थियो ।
आर्थिक अभावका कारण शवलाई नेपाल ल्याउन नसकेर उतै दाहसंस्कार गरेको समेत जनाइएको छ । घरको अवस्था कमजोर भएका कारण श्रीमान कमाउन भारत गएको र बाटोमै दु:खद निधन भएपनि आफूहरू निकै पीडामा रहेको केसीकी श्रीमतीले बताइन् ।
उनले भनिन्, ‘आर्थिक अभावका कारण बुवाको शव नेपाल ल्याउन सकेनौँ । भाइहरू साना छन्, एउटा भाइले अर्काको अटो भाडामा ल्याएर चलाएर घरको दैनिकी चलिरहेको थियो । कमाउन जानुभएका श्रीमान बाटोमै बित्नुभयो । घरको अन्नपात केही छैन्, अब उहाँको काजकिरिया गर्नको लागि निकै समस्या भएको छ ।’
आर्थिक अभावका कारण आधा भत्किएको घर समेत बनाउन नसकेको भन्दै उनले पानी परिरहेमा घर नै भत्किने अवस्था रहेको र अहिले यही घरमा आफुले सकेको काजकिरिया गर्दै आएको समेत बताइन् ।
यस्तै उनले आर्थिक अभावका कारण आफू उहाँ बितेको ठाउँमा जान नपाएको र त्यहाँ रहेका नेपालीहरूलाई उतै दाहसंस्कार गर्न पठाएपछि बुधबार साउन ३० गतेदेखि घरमा काजकिरिया शुरु गरेको बताइन् ।
अर्का आफन्तीले पनि आर्थिक अभावका कारण आफूहरू भारत जान नसकेर त्यहाँ रहेका नेपालीहरूलाई उतै दाहसंस्कार गर्न पठाएको र उताबाट भिडिओ कल मार्फत दाहसंस्कार गरेको देखाएपछि यता काजकिरियाको काम शुरु गरेको बताए ।
उनले भने, ‘घरको अवस्था निकै दयनीय रहेको छ । घरको मुख्य ब्यक्तिको नै निधन भएपछि अहिले परिवारलाई निकै पीडा परेको छ । एकातिर घरमालिकको निधन भएको छ । अर्कोतर्फ उहाँका काजकिरिया गर्नको लागि केही छैन् । यो जस्तो पीडा अरु के हुनसक्छ ।’
शान्तिनगर गाउँपालिका ७ का वडाध्यक्ष तारा बहादुर केसीका अनुसार घरको आर्थिक अवस्था कमजोर भएका कारण केसी रोजगारीको सिलसिलामा भारतको लदाक भन्ने ठाउँमा जानको लागि यही साउन २३ गते घरबाट हिँड्नु भएको रहेछ ।
तर, उहाँको जादा जाँदै गर्दा बाटो एक्कासि बिरामी भएपछि साउन २७ गते उपचारको भारतको कारगिल क्रममा निधन भएछ । केसीको घरको अवस्था निकै दयनीय अवस्था रहेको भन्दै उनले वडाबाट सक्दो सहयोग गर्ने समेत बताए ।
