काठमाडौं । गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरबीच आज २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकको उपस्थितमा गृहसचिव अर्याल र प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भई सम्झौता आदानप्रदान समेत गरेका हुन् ।
उक्त अवसरमा गृहसचिव अर्यालले कार्यसम्पादन सम्झौताका विषय समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासनलगायत गृह मन्त्रालयका सम्पूर्ण जिम्मेवारी प्रतिविम्बित गरेको उल्लेख गरे ।
सम्झौता कार्यान्वयन गर्ने क्रममा गृह मन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्चस्तरको समन्वय हुने उनले उल्लेख गरे ।
सम्झौतामा उल्लेख विषय र सम्पादन गर्नुपर्ने कार्य उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ–आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवं लगन उच्च हुने विश्वास उनले व्यक्त गरे ।
नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव अर्याल र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो ।
