एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । भारतीय संञ्चारमाध्ययमहरुसँग कुरा गर्दै हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको दाबी गरेकी हुन् ।
अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई सेना राख्न दिएको भए आफूलाई यस्तो तनाव नहुने उनको भनाई छ ।
उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् । हसिनाले बंगलादेशको अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिएकी छन् ।
२४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।
दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किएकी थिइन् ।
