काठमाडौं । छानबिनमा परेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको अचल सम्पत्तिको खोजी गरिएको छ । प्रशासन विभागका एआईजी टेक प्रसाद राईको संयोजकत्वमा बनेको ५ सदस्यीय छानवीन समितिले ज्ञवालीको अचल सम्पत्तिको खोजी गरेको हो ।
प्रहरीमा समानान्तर संगठन चलाएको, चेन अफ कमाण्ड उल्लंघन गरेको, नक्कली भुटानी शरणार्थी काण्डमा घोटाला गरेको, ६० किलो सुन, भेप सुन काण्डमा आर्थिक लेनदेन गरि अभियुक्तलाई बचाउन खोजेको, नेपाल प्रहरीको संगठनलाई व्याक्तिगत हित र आफ्नो स्वार्थ अनुकुल परिचालन गरेको र अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन समितिले अनुसन्धान गरिरहेको छ ।
छानबिनका क्रममा समितिले एआईजी ज्ञवालीविरुद्ध अकूत सम्पत्ति आर्जनको समेत उजुरी परेकाले त्यस विषयमा पनि छानबिन सुरु गरेको हो । समितिले ज्ञवालीको स्वामित्वमा नगरकोट, काभ्रे र मोरङमा रहेको जग्गाहरुको खोजी गरिरहेको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी)बसन्त कुँवरलाई ‘कू’ गर्ने प्रयास गरेका एआईजी ज्ञवालीलाई अहिले आईजी कुँवरले छानबिन समिति बनाएर कारबाहीको दायरामा ल्याउन लागेका हुन् । सोही अवस्थामा ज्ञवालीमाथि आधादर्जन आरोपहरु लगाई छानबिन गरि कारबाही गर्ने तयारी गरिएको पनि प्रहरीले जनाएको छ ।
एआईजी ज्ञवालीको छानबिनका लागि एआईजी टेकप्रसाद राईको संयोजकत्वमा अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् ।
