काठमाडौं । झापामा तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रहेका थुनुवा झकबहादुर खड्काको मृत्यु भएको हो ।
बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय खड्काको त्यही मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध मेचीनगर नगरपालिका- ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकरभिट्टासम्म पुर्याईदिनु भनि पठाएको खुलेको थियो ।
त्यसपछि मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको थियो । यता मृतक खड्काको परिवारले शव बुझ्न मानेका छैनन् ।
