काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन सुरु भएको छ ।
सरकारले भविष्यमा प्रहरी अधिकारीको हैसियत गैरव्यावसायिक उद्देश्यका लागि दुरुपयोग हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ज्ञवालीमाथि कारबाहीको तयारी थालेको हो ।
ज्ञवालीले अनुसन्धानमा बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले एआइजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन सुरु गरेको विश्वस्त स्रोतले बतायो ।
सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेले सीआईबीबाट एआईजी किरण बज्राचार्यलाई हटाएर चैत पहिलो साता एआईजी ज्ञवालीलाई पठाएका थिए ।
तर, ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान भएन । बरु, तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत दबाए ।
तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग ‘नाजायज’ र ‘अस्वाभाविक सम्बन्ध’ राखेको लगायत विषयमा छानबिन गर्न समिति गठन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो ।
केही मुद्दाका प्रतिवादीसँग आर्थिक लेनदेन गरेको आरोपमा सूक्ष्म अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।