काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेका छन् ।
सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका थिए ।
स्विस राष्ट्रपतिसँग द्विपक्षीय भेटका लागि गत जेठ २९ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको स्वीट्जरल्याण्डको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ थियो ।
भौगोलिक दूरी र फरक विकास स्तरका बावजुद दुवै देशले मित्रता, सहयोग र पारस्परिक सम्मानलाई कायम गरेको भन्दै नेपालको शान्ति प्रक्रियामा स्वीसले गरेको सहयोगको गृहमन्त्री लेखकले प्रशंसा गरेका थिए ।
‘विकास र सहयोगका लागि स्विस एजेन्सीले नेपालको सामाजिक आर्थिक विकासमा उल्लेख्य योगदान गरेको छ। आगामी दिनहरूमा विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा सहायता उपलब्ध हुने विश्वास लिएको छु,’ उनले भने ।
गृहमन्त्री लेखकले सन् २०२६ सम्ममा नेपाल न्यून आय भएको मुलुकबाट स्तरोन्नति भइ २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य प्राप्तिको लागि स्रोत, साझेदारी र प्रविधिमा स्विट्जरल्यान्डसँग सहयोगको अपेक्षा गरेका थिए ।
‘नेपालले विकास सहयोग र प्रत्यक्ष वैदेशिक लगानीमा स्वीस सरकारसँग सहयोगको अपेक्षा गर्दछ । जलवायु परिवर्तन नेपालको लागि महत्त्वपूर्ण मुद्दा भएकाले सिओपी—२८ जस्ता विश्वव्यापी मञ्चहरूमा नेपालले उठाउँदै आएको पर्वतीय मुद्दालाई समर्थन गर्न स्वीस सरकारसमक्ष आग्रह गर्दछ,’ उनको भनाइ थियो ।
राजदूत मेउलीले नेपालको संक्रमणकालीन न्यायका विषयमा चासो व्यक्त गरेका थिए । उनले संक्रमणकालीन न्यायको विषय कायान्वयनका लागि स्वीट्जरल्याण्डको सहयोग रहने बताएका थिए ।