काठमाडौं । हाल नेपाल प्रहरीमा २ नायब महानिरीक्षक (डिआइजी) पद रिक्त छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उमेशराज जोशी र डिआइजी पोषराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि २ पद रिक्त भएको हो ।
एआइजी जोशीको ठाउँमा डिआइजी रामदत्त जोशी बढुवा सिफारिस भइसकेका छन् । सम्भवत उनले आगामी बुधबार एआइजीको फुली लगाउने प्रहरी मुख्यालयले जनाएको छ ।
डिआइजीको दुई पद रिक्त हुँदा ती दुई पदमा दर्जन प्रहरी अधिकारीहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् । मुख्यतः प्रहरी महानिरीक्षकको ब्याचमेटदेखि २०५४ को टोलीसम्म डिआइजी प्रतिस्पर्धा रहेको बताइएको छ ।
डिआइजी बढुवाका लागि हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज विष्ट र गणेश चन्द सिनियर हुन् । तर उनीहरुको सम्भावना कम रहेको बताइन्छ ।
यसैगरी एसएसपीहरू सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेश आचार्यहरु पनि डिआइजी बढुवाको दावेदार हुन् । तर, प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुवर २०५३ को टोली (शाह, राठौर र चतुर्वेदी) लाई डिआइजी बढुवा गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।
यता गृहमन्त्री रमेश लेखकले समेत उनीहरुलाई बढुवा गर्नुपर्ने अडान राखेका छन् । प्रहरी संगठनमा इमान्दार छवि बनाएका राठौरलाई यसअघिको बढुवामै छुटाइएको भन्दै प्रहरी नेतृत्व र तत्कालीन गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भएको थियो ।
उनीहरुभन्दा पछिल्लो ब्याजका एसएपीहरू दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी डिआइजीमा बढुवा भैसकेका छन् । तत्कालीन गृहमन्त्री लामिछानेले राठौरको टोलीलाई बढुवाबाट रोकेका थिए ।
जतिबेला लामिछानेले ३ ब्याचलाई पन्छाएर बढुवा गरेका थिए ।