काठमाडौ । दोलखाको कालिञ्चोक गाउँपालिका-६ की वृद्धा महिलाको हत्या पैसा लुट्ने मनसायले भएको पुष्टि भएको छ ।
स्थानीय एक युवकले पैसा लुट्ने मनसायले वृद्धा महिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) शत्रुधन कुमार महतोले बताए ।
चार दिन अघि आफ्नै घरमा मृत फेला परेकी पाटागाउँकी ८० बर्षिया पदमकुमारी सुनुवारको हत्या अभियोगमा प्रहरीले कालिञ्चोक गाउँपालिका ४ का २३ वर्षिय बिक्रम कार्कीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
इन्स्पेक्टर महतोले वृद्धा महिलाको घरमा राती बास मागेर बसेका कार्कीले पैसा लुट्ने मनशायका साथ टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

हत्यापछि फरार रहेका कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई दोलखा प्रहरीले साउन ११ गते पक्राउ गरेको थियो ।
वैदेशिक रोजगारीमा दुबई जानको लागि परीक्षा दिई काठमाडौंबाट घर फर्कने क्रममा ती युवक मृतक सुनुवारको घरमा पुगि बास बस्नका लागि अनुरोध गरेका थिए । वृद्धाले कार्कीलाई छुट्टै भान्सा कोठामा ओछ्यान लगाई आफु अर्कै कोठामा गएर सुतेकी थिइन् ।
तर, कार्कीले राती आफु सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यापछि उनी भागेका थिए ।
पक्राउ परेका कार्कीविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
