काठमाडौ । पर्साको वीरगन्जबाट कैलालीको धनगढीतर्फ जादै गरेको सुपप्र ०१००१ ख २४४२ नम्बरको मालबाहक ट्रकमा शव भेटिएको छ ।
ट्रकमा ढुवानी गरेर ल्याइएको फलामको रड र प्लास्टिकको बोराहरु धनगढीको सेतोपुलस्थित रुपम एन्जल ट्रेड एण्ड सप्लायर्समा झार्ने क्रममा उक्त ट्रकभित्र अपरिचित व्यक्तिको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार उक्त ट्रकका चालक कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश राना हुन् ।
उनीहरु दुबै जनालाई नियन्त्रणमा लिइएको बोहोराले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएका छन् ।
पहिचान खुल्न नसकेको व्यक्तिको उक्त शव हाल सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
