काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, `पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ । यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।´
उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए ।
प्रचण्डले भने, ´१८ महिना सरकारको नेतृत्व गर्यौँ । हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ । हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ । यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।´
पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।