काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् ।
वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताए ।
उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे । स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे ।
न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै दुवैलाई सहज रूपमा अघि बढाउने गरी मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।
