काठमाडौं । नेपाल प्रहरी अस्पतालको प्रमुख बन्न तीन जना प्राविधिक नायब महानिरीक्षक (डिआईजी) प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) आशा सिंहले गत बुधबार अवकाश पाएकी प्रहरी अस्पताल प्रमुख अर्थात् मेडिकल डाइरेक्टर एआईजीको पद खाली भएको छ ।
उनी साढे चार वर्ष नेपाल प्रहरी अस्पताल प्रमुख भएर काम गरेपछि उमेरहदका कारण अवकाशमा गएकी हुन् । १४ पुस ०७६ मा डा. आशालाई सरकारले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी दिएको थियो ।
अब अस्पतालको बागडोर समाल्न डिआईजीद्वय सुन्दर हाइजु, संजय बिक्रम श्रेष्ठ र गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
मुख्यगरी तीन डिआइजीबीच एआईजी बढुवामा प्रतिस्पर्धा छ । अब उनीहरूमध्ये एकजना प्रहरी अस्पतालको हाकिम एवं एआईजीमा बढुवा हुनेछन् ।
हाइजु सिनियर भएपनि कार्यक्षमताको दृष्टिकोणले श्रेष्ठ अब्बल रहेकाले उनको बढुवाको पक्षमा प्रहरी अधिकारी छन् । सम्भवत सरकारले आइतबार प्रहरी अस्पताल प्रमुख नियुक्त गर्नेछ ।
यी तीन जनामध्ये हाइजु अन्य भन्दा डेढ वर्षले सिनियर भएकाले उनको पनि सम्भावना प्रवल छ । उनको डीआईजी हुँदा श्रेष्ठ र ठाकुर भन्दा डेढ वर्ष अगाडि बढुवा भएको थियो ।
हाल अस्पतालको निमित्त प्रमुखको जिम्मेवारीमा हाइजु छन् । यद्धपी अहिलेसम्म बरिष्ठताको आधारमा र निमित्तलाई नै पछि पूर्ण निर्देशकको जिम्मेवारी दिने चलनले हाइजुको सम्भावना बलियो भएको जानकारहरु बताउँछन् ।
त्यसका लागि गृह सचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने बढुवा समिति बनाइएको हुन्छ । समितिले दुईमध्ये एकजना डिआईजीलाई अस्पतालको प्रमुखमा सिफारिस गर्ने कानुनी प्रावधान छ ।
त्यसपछि एआईजीमा बढुवाको निर्णय मन्त्रिपरिषदबाट हुने हो ।
त्यस्तै प्रहरी अस्पतालमा अब डीआईजीका लागि तीन पद खाली हुनेछ ।
जसमा एसएसपी दामोदर पौडेल, एसएसपी सञ्जिता घिमिरे दाहाल, एसएसपी मनोजकुमार यादव, एसएसपी अभियन्यू श्रेष्ठ लगायतको सम्भावना छ । जसमा दामोदर सबैभन्दा सिनियर हुन् ।
