काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार डीआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।
उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो ।
यद्यपि एआईजीको फुली लगाएको २ दिनमै पोखरेल पनि अनिवार्य अवकाशमा जानेछन् । पोखरेल पनि ५६ वर्षे उमेर हदका कारण जोशी अवकाशमा गएको २ दिनपछि असार २० गते राति १२ बजेबाट ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जानेछन् ।
प्रहरी नियमावली २०७१ को दफा १२७ अनुसार एआईजी र डीआईजी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् । जसकारण पोखरेल एआईजीमा बढुवा नभएको खण्डमा पनि २० असारको राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने थिए ।
तर १० दिन अघि नै बढुवा सिफारिस गर्दै विशिष्ट श्रेणीको एआईजी बनाउन लागिएको हो । पोखरेल हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।
यसअघि २०७९ जेठ मा पनि वसन्तकुमार लामालाई सरकारले २ दिने एआईजी बनाएको थियो ।
