काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई पक्राउ गरेको छ ।
काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा ब्युरोको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान रहेका छन् ।
गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको छ ।
नाबालिकालाई काठमाडौं झिकाएपछि उनले काठमाडौंको टोखा नगरपालिका-११ मा सञ्चालन गरेको सनफ्लावर स्पा सेन्टरमा मासिक १० हजार तलब दिने भनि स्पा सेन्टरमा पुर्याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार सनफ्लावर स्पा सेन्टरमा वेश्यावृत्तिमा लगाई सकेपछि नाबालिकाहरुलाई स्याङतानले ठमेलमा ए वान स्पा सेन्टरमा ल्याएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ ।
उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
